उपत्यकाकै वित्तीय संस्था बढी समस्याग्रस्त Read 1314 Times
karobar at 10/3/2013

कारोबर सम्बाददाता
काठमाडौं, १६ असोज - उपत्यकाबाहिरका बैंक/वित्तीय संस्थाहरूको तुलनामा राष्ट्र बैंकको प्रत्यक्ष र छिटो नियमन तथा सुपरिवेक्षण पुग्ने उपत्यकाभित्रकै संस्थामा बढी समस्या देखिएको छ ।
 राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेका मात्र होइन, बैंकिङ कसुरका घटना पनि उपत्यकाभित्रै बढी देखिएका छन् ।
केन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरेका १० बैंक÷वित्तीय संस्थामध्ये ९ उपत्यकाभित्रका हुन् । नेपाल विकास बैंक, गोरखा विकास बैंक, सम्झना फाइनान्स, युनाइटेड विकास बैंक, नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स, क्रिस्टल फाइनान्स, कुवेर मर्चेन्ट फाइनान्स र हिमालय फाइनान्सलाई राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको छ । युनाइटेड विकास बैंक बाराको जितपुरमा छ भने बाँकी सबै उपत्यकामा केन्द्रीय कार्यालय रहेका संस्था हुन् । यीमध्ये नेपाल विकास बैंक, सम्झना फाइनान्स र युनाइटेड विकास बैंक खारेजीमा गइसकेका छन् ।
८६ विकास बैंकमध्ये ६६ उपत्यकाबाहिर छन् । वित्त कम्पनी (फाइनान्स) भने ५९ मध्ये ९० प्रतिशत उपत्यकाभित्रै छन् । “वित्तीय संस्थाको भीडभाड घटाउन मर्जरलाई प्रोत्साहित गरेका छौं,” राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली भन्छन्, “वित्तीय संस्थाको भीड बढ्दै गए नियमन÷सुपरिवेक्षण प्रभावकारी बनाउन कठिन हुन्छ ।”
तर, राष्ट्र बैंकले तुरुन्त हस्तक्षेप गर्नसक्ने ठाउँमा बढी समस्या देखिनुले नियमन÷सुपरिवेक्षणमा ढिलासुस्ती र पहुँचको प्रभाव रहेको कतिपय बैंकर बताउँछन् । कतिपय वित्तीय संस्थामा सञ्चालक र व्यवस्थापनको मिलेमतोले हुने ठगीमा राष्ट्र बैंकले आँखा चिम्लने गरेको उनीहरूको आरोप छ ।
सञ्चालक र व्यवस्थापनको मिलेमतोमा मात्र ठगीका घटना हुने नेपाल बैंकर्स संघका अध्यक्ष राजनसिंह भण्डारी बताउँछन् । सञ्चालकले सुशासनलाई प्रोत्साहन गरेका वित्तीय संस्थामा समस्या नआउने उनको भनाइ छ ।
“उपत्यकाबाहिरका धेरैजसो वित्तीय संस्थाहरू सानो पुँजी, लगानी र सुशासनमा चलेका छन्,” वित्त कम्पनी संघका अध्यक्ष राजेन्द्रमान शाक्य भन्छन्, “सम्झना फाइनान्स, नेपाल सेयर मार्केट्स, क्यापिटल मर्चेन्ट, हिमालय फाइनान्सलगायतको समस्या त्यही हो ।” वल्र्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले बैंकिङ कार्यालय हेटौंडाबाट काठमाडौं सारेको थियो ।
बैंकिङ ठगीलाई नजिकबाट नियालिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी प्रकाश अर्याल भन्छन्, “उपत्यकामा व्यवसायको आयतन ठूलो हुनु र अनैतिक प्रयासबाट कमाउन खोज्ने प्रवृत्तिले यस्ता घटना भइरहेका छन् ।” उनका अनुसार चतुर र पहुँचवालाबाट बढी घोटाला भएका छन् । बाहिरको तुलनामा उपत्यकामा त्यस्ता मानिसको बाहुल्यता बढी भएकाले ठगीका घटना बढेको उनको भनाइ छ ।
त्यस्तै, बैंकिङ ठगीका घटना पनि उपत्यकाभित्रै बढी भएका छन् । एच एन्ड बी बैंकको ‘गुड फर पेमेन्ट चेक’मा १ अर्ब ६७ करोड ठगी, किस्ट बैंकले जम्को प्रकाशनलाई कमसल धितोलाई बढी मूल्यांकन गरी १३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको उदाहरण छन् । त्यस्तै, श्रीलंका मर्चेन्ट एन्ड फाइनान्स र वैभव फाइनान्समा सञ्चालक र व्यवस्थापनको मिलेमतोमा ठगी भएको थियो ।
एच एन्ड बी डेभलपमेन्ट बैंकको ‘गुड फर पेमेन्ट चेक’ काण्डमा ठगिएकाहरूको समस्या राष्ट्र बैंकले सल्टाइसकेको छैन । अभियुक्त महेश चौरसिया र अन्य १४ जना विरुद्ध अदालतमा मुद्दा चलिरहेको छ ।  पीडितहरूलाई ३५ प्रतिशत नगद, सोही अनुपातमा सेयर र बाँकी भुक्तानी प्रतिबद्धतासहित समस्या सल्टाउने प्रयास भइरहेकोे छ । तर, सेयर दिन हकप्रद जारी गर्नुपर्ने कानुनी जटिलताले उक्त समस्या तत्कालै टुंग्याउन अप्ठ्यारो रहेको केन्द्रीय बैंकले जनाएको छ ।

Send

Comments: