कर्मचारी ‘आउटसोर्सिङ’ ले सञ्चालन जोखिम Read 1291 Times
karobar at 10/3/2013

कारोबर सम्बाददाता
काठमाडौं, असोज- बैंक तथा वित्तीय संस्थाहरूमा कर्मचारीहरूको ‘आउटसोर्सिङ’ ले सञ्चालन जोखिम बढाउन सक्ने औंल्याइएको छ । पछिल्लो समय बैंक÷वित्तीय संस्थाहरूमा आउटसोर्सिङको लहर चलेकाले यसले निम्त्याउने जोखिमप्रति सजग हुनुपर्ने नेपाल राष्ट्र बैंकका प्रवक्ता भाष्करमणि ज्ञवाली बताउँछन् ।
पछिल्लो समय बैंक÷वित्तीय संस्थाहरूमा खासगरी ट्रेलरलगायत तल्लो तहका कर्मचारीहरू आउटसोर्सिङ गर्ने चलन बढेको छ । कर्मचारीको आउटसोर्सिङ लागत–प्रभावि उपाय भए पनि वित्तीय संस्थाहरूका लागि उपयुक्त नहुने उनको भनाइ छ । यसअघि सुरक्षा गार्ड, कार्यालय सहयोगीलगायतका अदक्ष कामदारहरू आपूर्ति गर्ने कम्पनीहरू रहे पनि अहिले दक्ष कामदार आपूर्ति गर्ने विचौलिया कम्पनीहरूको संख्या पनि बढेको छ ।  
बैंक÷वित्तीय संस्थाहरूले कर्मचारीको बोझ कम गर्न लिएका उपायले ठूलो दुर्घटना हुनसक्ने ज्ञवालीको भनाइ छ । “आउटसोर्सिङ गरिएका कामदार संस्थाप्रति कति उत्तरदायी हुनसक्छन् ?” उनले प्रश्न गरे । वित्तीय संस्थाहरूले तल्लो तहका कामदार आउटसोर्सिङ गर्नु ठीक हो÷होइन भन्ने विषयमा राष्ट्र बैंकले अध्ययन गरिरहेको र चाँडै नै यससम्बन्धमा निर्देशन जारी गर्ने उनको आशय थियो ।
बैंक÷वित्तीय संस्थाहरूमा पछिल्लो समय कर्मचारीहरूबाट समेत ठगी भएका घटनाहरू बाहिर आइरहेका छन् । प्रक्रिया र पद्धतिबाट उत्पन्न हुने सञ्चालन जोखिममा अहिलेसम्मका घटनाहरू हेर्दा बढी व्यक्तिहरूकै संलग्नता रहेको देखिन्छ ।
राष्ट्र बैंकका प्रवक्ता ज्ञवाली यस्ता जोखिमका सम्बन्धमा बैंक÷वित्तीय संस्थाहरू चनाखो हुन नसके यसले समस्या निम्त्याउने बताउँछन् । जोखिमलाई पहिचान गरी समयमै निराकरण गर्न नसक्दा यसले विकराल समस्या पैदा गर्नेतर्फ बैंकरहरू सचेत रहन उनले सुझाव दिए ।
पछिल्लो समय एचएन्डबी डेभलपमेन्ट बैंकको गुड फर पेमेन्ट चेक, हिमालयन बैंकको नारायणगढ शाखाको ट्रेलरबाट रकम हिनामिनाजस्ता घटना बाहिर आएका छन् । बैंकहरूको कर्जा र बजारको जोखिमभन्दा पनि अहिले सञ्चालन जोखिमको समस्या बढी देखिएको छ ।
नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष राजनसिंह भण्डारीले नक्कली कागजात र परिचयपत्र प्रयोग गरी एक शाखाबाट अर्को शाखामा नगद हस्तान्तरण गर्दासमेत ठगी भएका घटना भएको बताए । सञ्चालन जोखिमको समस्या बढ्दै गएको डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष कृष्णराज लामिछाने पनि स्वीकार्छन् ।
“कर्जामा बरु भौतिक सम्पत्ति धितोका रूपमा रहेकाले त्यति ठूलो जोखिम देखिन्न, तर सञ्चालन जोखिम ठूलो समस्याका रूपमा देखिएको छ,” लामिछाने भन्छन् । उनका अनुसार, पछिल्लो समय वाणिज्य बैंकहरूले आउटसोर्सिङ सुरु गरेको भन्दै यस्ता कर्मचारी आफ्नो रोजगारदाताप्रतिमात्र जवाफदेही हुने बताउँछन् । श्रम कानुनको जटिलतालगायतका कारणले अन्य कम्पनीबाट आउटसोर्सिङ गर्ने चलन बढेको हुनसक्ने भएपनि यसले जोखिम निम्त्याउने उनको भनाइ छ ।

Send

Comments: