पसल खोल्न कम्तीमा ३ लाख पुँजी Read 2178 Times
karobar at 10/3/2013

कारोबर सम्बाददाता

काठमाडौं,  असोज- काठमाडौं उपत्यका र तराईका जिल्लामा खुद्रा तथा किराना पसल दर्ता गर्न पनि अब कम्तीमा ३ लाख रुपैयाँ पुँजी देखाउनुपर्ने भएको छ । व्यवसायीले राजस्व कम तिर्नका लागि ठूलो आर्थिक कारोबारमा पनि कम पुँजी देखाउने गरेपछि सरकारले व्यवसाय फर्म दर्तासम्बन्धी मापदण्ड– २०७० मार्फत यस्तो व्यवस्था लागू गरेको हो । पहाडी र हिमाली जिल्लाका लागि भने १ लाख पुँजी राखे पुग्ने व्यवस्था गरिएको छ ।
वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले व्यवसायको प्रकृति र सुगम÷दुर्गम क्षेत्रका आधारमा फर्मले न्यूनतम राख्नुपर्ने पँुजीको व्यवस्था गरेको छ । व्यवसायलाई स्थानीय व्यापारको उद्देश्यबाट सञ्चालित तथा आयात–निर्यातमा आधारित गरी २ भागमा बाँडिएको छ ।
त्यस्तै, क्षेत्रका आधारमा काठमाडौं र तराई तथा पहाड र हिमाली जिल्लाका आधारमा छुट्टाछुट्टै पुँजी राख्नुुपर्ने व्यवस्था गरिएको छ । विभागका अनुसार करिब ३ लाख व्यापारिक फर्म दर्ता छ ।
राजस्व कम तिर्नका लागि करोडौं कारोबार गर्ने व्यवसाय (सुन÷चाँदी, स्पेयर पार्टस्लगायत)ले पनि कम पुँजी देखाएको पाइएको विभागका उपमहानिर्देशक विनोदप्रकाश सिंहले बताए । “कुन व्यवसायका लागि कम्तीमा कति पुँजी आवश्यक छ, त्यही अनुसार तोकेका छौं,” उनले भने, “तोकिएभन्दा कम पुँजी देखाए व्यवसाय दर्ता हुँदैन ।”
यसअघि, व्यवसाय दर्ता गर्न ५० हजार पुँजी आवश्यक पर्ने व्यवस्था थियो । “अधिकांश व्यवसायीले ५० हजारमात्र पुँजी देखाउँथे,” सिंहले भने ।
उनका अनुसार नवीकरण गर्ने फर्मलाई भने तत्काल पुँजी बढाउनु नपर्ने व्यवस्था गरिएको छ । तर, व्यवसायमा केही संसोधन गरे नयाँ मापदण्डबमोजिम पुँजी राख्नुपर्ने हुन्छ । “शाखा कार्यालय खोल्दा न्यूनतम पुँजीको कम्तीमा ३० प्रतिशत थप्नुपर्छ,” उनले भने ।
मापदण्डअनुसार काठमाडौं उपत्यका र तराईका सदरमुकाम र नगरपालिकामा पेट्रोल÷डिजेल पम्प, सुनचाँदी बहुमल्य धातु, सवारी साधन र ट्रान्सफर्मर व्यवसाय दर्ता गर्नेले सबैभन्दा बढी ४० लाख पुँजी राख्नुपर्ने छ भने पहाडी र हिमाली जिल्लामा खुद्रा तथा किराना पसल खोल्नेले सबैभन्दा १ लाख पुँजी राख्नुपर्ने हुन्छ ।
समुद्रपार र भारत वस्तु आयात–निर्यात गर्नेलाई पनि छुट्टाछुट्टै पुँजी तोकिएको छ । ठूल्ठूला मेसिनरी आयात–निर्यात गर्ने व्यवसायीले सबैभन्दा बढी ४० लाख पँुजी राख्नुपर्नेछ भने स–साना वस्तु भारत आयात–निर्यात गर्नेले ५ लाख पुँजी राखे पुग्ने व्यवस्था मापदण्डमा गरिएको छ ।
विभागका अनुसार १ लाख रुपैयाँ चुक्ता पुँजी हुने फर्मले ६ सय रुपैयाँ रजिस्ट्रेसन दस्तुर बुझाउनुपर्छ भने ३ लाख पुँजी भएका फर्मले १ हजार बुझाउनुपर्छ । यस्तै, ५ लाखसम्मका फर्मले ६ हजार, २० लाखसम्मका फर्मले १२ हजार, १ करोड चुक्ता पुँजी भएका फर्मले २० हजार, ५ करोड पुँजी भएका फर्मले ३० लाख र ५ करोडभन्दा बढी चुक्ता पुँजी भएका फर्मले ५० हजार रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्ने व्यवस्था छ ।
व्यवसायको प्रकृतिअनुसार न्यूनतम पुँजी               

 व्यवसायको प्रकृति     

 काठमाडौं/तराई 

 सदरमुकाम नपा / गाविस  

 पहाडी/हिमाली जिल्ला

 सदरमुकाम नपा  /  गाविस

पेट्रोल, डिजेल पम्प, सवारी साधन तथा ट्रान्सफर्मर     ४० लाख  /  ३५ लाख    ३५ लाख   / ३० लाख
मोटर पार्टस्, जेनेरेटर, सर्जिकल समान, कार्पेट        २० लाख   १५ लाख     १५ लाख  /  १० लाख

 

Send

Comments: